८० वर्षपछि चीनमा सेनाले तिर्यो किसानको ऋण
काठमाडौं । ऋण लिएपछि वर्षौँसम्म नतिरेका कथाहरू हामीले धेरै सुनेका छौँ। तर के कुनै सरकार वा सेनाले करिब ८० वर्षपछि पनि आफ्नो पुरानो ऋण चुकाउन सक्छ ? चीनमा यस्तै एउटा अनौठो र चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ युद्धका क्रममा एक किसानबाट सापट लिइएको अनाजको हिसाब दशकौँपछि उनका नाति-पुस्तालाई चुक्ता गरिएको छ।
यो कथा चीनको पूर्वी क्षेत्रका बासिन्दा डिङ वानमिनको परिवारसँग जोडिएको छ। ‘साउथ चाइना मोर्निङ पोस्ट’ को प्रतिवेदनअनुसार सन् १९४७ मा चीनमा गृहयुद्ध चलिरहेको थियो। सोही क्रममा पिपल्स लिबरेसन आर्मीको एउटा ठूलो टोली कुओमिन्ताङ सेनाविरुद्धको लडाइँका क्रममा दाबी पहाडी क्षेत्रमा पुगेको थियो।कठिन युद्धका कारण सैनिकहरूसँग खानेकुरा लगभग सकिएको थियो। गाउँका घरहरूलाई कुओमिन्ताङ सेनाले पहिले नै लुटिसकेको थियो र डिङ वानमिनका छोरालाई पनि जबर्जस्ती सेनामा भर्ती गरिएको थियो।
यसका बाबजुद पीएलएका सैनिकहरूले गाउँ पुगेर उच्च अनुशासन प्रदर्शन गरे। च्यातिएका कपडा र परालका चप्पल लगाएका सैनिकहरूले गाउँलेको घरभित्र छिर्नुको साटो खुला आकाशमुनि बस्न रुचाए। सैनिकहरूको यो सालिन व्यवहार देखेर किसान डिङ वानमिनले उनीहरूलाई विश्वास गरे।डिंग वानमिनले आफ्नो परिवारसँग रहेको लगभग सम्पूर्ण अन्न भण्डार अर्थात् ८५० किलोग्रामभन्दा बढी अनाज सेनालाई सापट दिए। यसको सट्टामा सैन्य अधिकारीहरूले उनलाई मिति, अनाजको परिमाण र हस्ताक्षरसहितको हस्तलिखित ‘ग्रेन लोन सर्टिफिकेट’ (अनाज ऋण प्रमाणपत्र) थमाएका थिए।
समय बित्दै गयो र त्यो प्रमाणपत्र परिवारको पुरानो घरको पर्खालभित्र थिचिएर रह्यो। सन् १९९० को दशकमा जब परिवारले पुरानो घर भत्काउन थाल्यो, तब इट्टाको बीचमा पहेँलो भइसकेको एउटा ऐतिहासिक कागज फेला पर्यो। डिङ वानमिनका नाति डिङ गुआङ्गीले त्यो आफ्ना हजुरबुबालाई सेनाले दिएको ‘ग्रेन लोन सर्टिफिकेट’ भएको पहिचान गरे।
आर्थिक अभाव हुँदा पनि परिवारले कहिल्यै सो ऋण फिर्ता मागेन। उनीहरूका लागि यो कागज पैसाको दायराभन्दा माथि इतिहासको अमूल्य हिस्सा बनिसकेको थियो। गत वर्ष सन् २०२५ मा स्थानीय प्रशासनले पुराना ऐतिहासिक दस्तावेजहरू सङ्कलन गरिरहेको जानकारी पाएपछि डिङ गुआङ्गीले उक्त प्रमाणपत्र सरकारलाई बुझाउने निर्णय गरे।जब अधिकारीहरूले युद्धकालीन यो ऋण आजसम्म चुक्ता नभएको थाहा पाए, तब उनीहरूले अनाजको ऐतिहासिक मूल्य, महंगी र दस्तावेजको महत्त्वलाई ध्यानमा राख्दै परिवारलाई ७० हजार युआन (करिब १६ लाख रूपैयाँ) रकम हस्तान्तरण गरे।
डिङ गुआङ्गीले प्राप्त रकममध्ये २० हजार युआन पूर्व सैनिकहरूलाई सहयोग गर्ने संस्थालाई दान समेत गरिदिएका छन्। उनले भने, ‘मेरो हजुरबुबाले कम्युनिस्ट पार्टीले सर्वसाधारणको जीवन स्तर सुधार्नेछ भन्ने विश्वासका साथ अनाज सापट दिनुभएको थियो। यो प्रमाणपत्र घरमा राख्नुभन्दा इतिहासका रूपमा मानिसहरूले जान्नु र सम्झनु बढी महत्त्वपूर्ण छ।’ हाल यो ऐतिहासिक ‘ग्रेन लोन सर्टिफिकेट’लाई स्थानीय सहिद स्मारक सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको छ।
सम्बन्धित समाचार
इरान-अमेरिका सैन्य तनाव इजिप्टसम्म फैलियो: दमियाता बन्दरगाहमा दुई ग्यास ट्याङ्करमा ड्रोन आक्रमण
काठमाडौं । इरान र अमेरिकाबीच जारी सैन्य मुठभेड तथा तनाव अब इजिप्ट सम्म पुगेको छ। अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ का अनुसार इजिप्ट सरकारले बिहीबार...
इराकको सुलेमानियाहमा ड्रोन आक्रमणपछि ठूलो आगलागी
काठमाडौं । इराकी सञ्चारमाध्यमले ड्रोन आक्रमणपछि कुर्दिस्तान शहर सुलेमानियाहको एक क्षेत्रमा ठूलो आगलागी भएको रिपोर्ट गरेको छ। बीबीसी फारसीका अनुसार...

